काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई भारतको मुम्बई लगिएको छ ।
दुर्घटनापछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि श्री एयरलाइन्सको चार्टर्ड उडानमा भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको हो ह्याम्स अस्पतालले जानकारी दिएको छ ।
ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी, डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलि जंग शाहीले ‘मेडिकल स्कर्टिङ’ गरी पाइलट सेढाईलाई नेशनल बर्न सेन्टर पुर्याएको अस्पतालले जनाएको छ ।
आज बिहान १ बजे ह्याम्सको विशेषज्ञ टोलीले मुम्बई एअरपोर्टमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरी बिहान ४ बजेर २० मिनेटमा नेपाल फर्केको ह्याम्सका इमर्जेन्सी इन्चार्ज निशान्त ढकालले जानकारी दिएका छन् ।
शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अस्पतालले जनाएको छ । उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको अस्पतालले जानकारी दिएको छ ।
हाइ अल्टिच्युडमा रहेका यात्रु लिन शनिबार बिहान ७ बजेर १३ मिनेटमा लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो ।



















