काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेश गरेका छन् । बिहीबार साँझ कोशी प्रदेशसभामा केन्द्रीय सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा आङ्बोले प्रदेश प्रमुखको कार्यालयमा पुगेर दावी पेश गरेका छन् भने नेपाली कांग्रेसका शेखर कोइराला पक्षका कार्कीले एमालेको समर्थनमा ४७ जना सांसदको हस्ताक्षर सहित दावी पेश गरेका छन् ।
आङ्बोलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन छ ।
नेपाली कांग्रेसका नेता कार्कीले कांग्रेसका ८ र एमालेका ३९ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन । आङ्बोले पुरानो हस्ताक्षर प्रयोग गरेको कार्की पक्षको दावी छ ।
कोशी कांग्रेस उपनेता हिमाल कार्कीले दिए राजीनामा
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उप नेताबाट राजीनामा दिएका छन् ।
उनले आजै कोशी प्रदेश सभाको दलको उपनेताबाट राजीनामा दिएका हुन् । उनले आजैबाट उपनेताको जिम्मेवारी निभाउन नसक्ने भन्दै राजीनामा दिएका हुन् । उनले आफू अब प्रदेशसभा सदस्यमात्रै रहने बताएका छन् ।
कांग्रेसको संस्थापनले माओवादीलाई मुख्यमन्त्री दिएको र कोइराला पक्षले एमालेको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीको दावी पेश गरेपछि कांग्रेसमा विवाद बढेको छ ।

























