काठमाडौं । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र कोशीका संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ ।
बिहीबार काठमाडौंमा बसेको गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डले जानकारी दिएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पाण्डेले अहिलेसम्म कांग्रेसलाई गठबन्धनका तर्फबाट मुख्यमन्त्री दिइएकोमा अव माओवादी केन्द्रले कोशीको मुख्यमन्त्रीमा दावेदारी पेश गर्ने बताएका छन् ।
यता कांग्रेस नेता शेखर कोइरालाले भने कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउनुपर्ने बताएका छन् । पार्टी नेतृत्वले माओवादीलाई मुख्यमन्त्री छाड्ने संकेत गरेपछि कोइराला पक्षले बुधबारदेखि नै हस्ताक्षर संकलन शुरु गरेको छ । कांग्रेसको कोइराला पक्षले ८ प्रदेशसभा सदस्यको हस्ताक्षर संकलन गरेको बुझिएको छ ।
कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, उनीहरुमध्ये ९ जना कोइराला पक्षमा पनि एक जनाले हस्ताक्षर गरेका छैनन् ।
उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र केदार कार्कीले हस्ताक्षर गरेका छन् । कोइराला पक्षका गयानन्द मण्डलले हस्ताक्षर गराउनका लागि बुधबार राति आफ्नै घरमा आएपनि आफूले नगरेको बताएका छन् ।
कोइराला पक्ष आफ्नो समूहका प्रदेश सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन चाहेको छ । सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलाले भने संसदीय दलका नेता उद्धव थापा बाहेक अरुलाई मुख्यमन्त्रीमा अघि सार्न नसक्ने बताएका छन् । थापाको नाममा सहमति नजुटे माओवादी सांसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्न उनीहरुको तयारी छ ।
त्यस्तै राप्रपा नेतृ रोशन कार्कीले अहिले कोशीमा मध्यावधिको अवस्था आउन नदिन राप्रपाले आवश्यक भूमिका निर्वाह गर्ने बताएकी छिन् । कोशी सरकारका बारेमा शुक्रबार बैठक बसेर आवश्यक निर्णय लिइने उनले बताएकी छिन् । राप्रपाले कोशी प्रदेश सरकारबारे निर्णय गर्न शुक्रबार विहान ८ बजे केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ।
कोशीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारको नेतृत्वमा दाबी गर्न असोज २६ गते शुक्रबार सम्मको समय दिइएको छ ।
कोशी प्रदेशमा एमालेको उपसभामुखसहित ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जनता समाजवादी पार्टीको १ सांसद रहेका छन् ।
एमालेका ४० जना सांसदको समर्थनमा कोइराला पक्षले केदार कार्कीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको स्रोतको दावीछ । शेखर कोइराला र केपी ओलीबीच यसबारे छलफल भएको स्रोतको दावी छ । गठवन्धनभित्र दरार ल्याउन र मध्यावधि निर्वाचन रोक्नका लागि पनि कोइराला पक्षलाई एमालेले समर्थन गर्न सक्ने सम्भावना छ ।
१६८ को उपधारा ५ अनुसार सरकार बन्ने भएकाले सांसदहरुलाई ह्वीप नलाग्ने भएकाले पनि कोइराला पक्षले पार्टीमा विद्रोह गरेर भएपनि मुख्यमन्त्रीको उम्मेदवारी दिने सम्भावना प्रवल बनेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।























