काठमाडौं । एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानमाथि शानदार जित हासिल गरेको छ। कप्तान देव खनालको शतक र उत्कृष्ट बलिङको मद्दतमा नेपालले इरानको यू -१९ टोलीमाथि २ सय ७४ रनको विशाल जित निकालेको हो ।
यू १९ प्रिमियर कपमा नेपालले दिएको ३ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा इरान ७९ रनमा अलआउट भयो। नेपालले ४०.१ ओभरमा अलआउट भएर ३ सय ५३ रन बनाएकामा दोस्रो इनिङमा इरान ३०.५ ओभरमा अलआउट भएको थियो ।
पहिलो इनिङमा खनालले ६० बलमा १ सय रन बनाए। खनालले १२ चौका र ४ छक्का प्रहार गरे। दीपक बोहराले ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रन बनाए। तेस्रो विकेटका लागि देव र दीपकले १ सय ६६ रनको साझेदारी गरेका थिए। अर्जुन कुमाल शुन्यमा आउट हुँदा आकाश त्रिपाठीले ३ रन, दीपक प्रसाद डुम्रेले ६९ रन, दीपेश कँडेलले २९, आकाश चन्दले १९, हेमन्त धामीले २३ तथा सुवास भण्डारी १८ रन बनाए।
इरानका लागि दद्रहमान राइसी र सलमान निज्मान्दले ३-३ विकेट लिए। समान शेखी र जियाद राइसीले समान २–२ विकेट लिएका थिए। जवाफी ब्याटिङमा आमेर खोर्सन्दले ३७ रन बनाउँदा साबेर इब्राहिमपुर ११ रनमा नट आउट रहे। नेपालका दीपेश कँडेल र सुवास भण्डारीले ३–३ लिँदा हेमन्त धामी र आकाश चन्दले २–२ विकेट लिए।