काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीमा सर्वसहमतिमा पदाधिकारी चयन भएका छन् । आज पाँचै पदाधिकारी सर्वसहमतिमा निर्वाचित भएका हुन ।
अध्यक्षमा कृष्णप्रसाद जैशी, उपाध्यक्षमा कालीबहादुर शाही, सचिवमा रणबहादुर चन्द, उपसचिवमा नरबहादुर बिक र भागरथी विष्ट सर्वसम्मत भएका छन् ।
अध्यक्ष पदमा मनोनयन दर्ता गराएका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैशी निर्विरोध निर्वाचित भएका हुन् । निवर्तमान प्रदेश सचिवालय सदस्य रहेका जैशी तत्कालीन अछाम जिल्ला विकास समितिका सभापति थिए ।
त्यस्तै उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्र बहादुर शाहीले उम्मेदवारी फिर्ता लिएपछि बाजुराका शाही सर्वसम्मत भएका हुन् ।
त्यस्तै सचिवका प्रत्यासी राजेश खाती, जीवनबहादुर बम र रतनबहादुर रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि कैलालीका चन्द पनि सर्वसम्मत भएका छन् ।
उपसचिव (खुल्ला) मा उम्मेदवारी दिएका रामदत्त जोशी, अशोककुमार चन्द, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टले फिर्ता लिएपछि कञ्चनपुरका विक सर्वसहम्मत भएका हुन भने उपसचिव (महिला) मा कन्दकला राना र अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएपछि कैलालीकी विष्ट चयन भएकी हुन ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि निर्वाचन प्रक्रिया लम्ब्याएर मंगलबारदेखि नेताहरूले सर्वसम्मतिको प्रयास गरेका थिए । विभिन्न पदमा आकांक्षा राखेका उम्मेदवारहरूलाई अन्यत्र व्यवस्थापन गर्ने शर्तमा सर्वसम्मत नेतृत्व चयन गरिएको बुझिएको छ ।
नेता भीम रावल निकट मानिएका अध्यक्ष पदका उम्मेदवार भरत साउदका कारण सर्वसम्मतिको प्रयास लम्विएको थियो । उनी निकट नरबहादुर विकलाई उपसचिव बनाउने सहमति पछि सबै पदाधिकारी सर्वसम्मत चयन हुने अवस्था बनेको बताइएको छ ।