काठमाडौं । सरकारले हमास आक्रमणबाट ज्यान गुमाएका नेपालीहरूको शव इजरायल सरकारको संरक्षणमा रहेको जानकारी दिएको छ।
बुधबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै दस जना नेपालीहरूको शव इजरायल सरकारको संरक्षणमा रहेको बताएको छ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले हस्तान्तरण गरेलगत्तै नेपालीहरूको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाउने बताइन्।
त्यस्तै हालसम्म अज्ञात रहेका बिपिन जोशीको खोजीकार्य तीव्र पारिएको प्रवक्ता लम्सालले बताइन् । उनका अनुसार अज्ञात स्थानमा रहेका बिपिनको हकमा खोजी कार्य तीव्र पारिएको छ ।
उनले हालसम्म ३५० भन्दा बढीले इजरालयस्थित नेपाली दूतावासमा विवरण टिपाएको बताइन्। त्यसमध्ये २८८ जना नेपाल फर्किन चाहेको बताइन्।
उनले इजरायल घटनामा सरकारले आफ्नो क्षमताले भ्याएसम्म काम कारबाहीहरू गरिरहेको बताइन्।




















