काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल सरकारको सम्पत्ती अद्यावधिक गर्न निर्देशन दिएको छ। बुधबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले नेपाल सरकारको सम्पत्ती (ऋण,धन,सञ्चित कोष) को अभिलेख अद्यावधिक गराउन निर्देशन दिएको हो।
बैठकले कानुनको पालना नहुँदा बेरूजु बढेको निष्कर्श निकालेको छ। बेरुजु नियन्त्रण गर्न कार्यलाई प्राथमिकताका साथ सम्पादन गर्नुपर्ने भएकाले सरकार एवं लेखा उत्तरदायी अधिकृतहरूलाई निर्देशन दिएको छ।
बैठकले लेखापरीक्षण हुन नसकेका सार्वजनिक संस्थानहरूको महालेखा परीक्षकको कार्यालयबाट तत्काल लेखापरीक्षण गराउन समेत निर्देशन दिएको हो। बैठकले आन्तरिक खर्च प्रणालीलाई मितव्ययी र नियमानुसार नियन्त्रण गरी प्रभावकारी बनाउन निर्देशन दिएको छ ।
असुलउपर गर्नुपर्ने वा तिर्नु बुझाउनुपर्ने बेरूजुको लगत कार्यालयस्तर र केन्द्रीय स्तरमा राख्नुपर्ने व्यवस्थाअनुसार बेरुजुको अद्यावधिक लगत समितिलाई उपलब्ध गराउन बैठकले समेत भनेको छ।

























