काठमाडौँ । द्वन्द्व जारी रहेको इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले नेपाल एयरलाइन्सको जहाज आज राति ११ वजे त्यसतर्फ पठाउने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई बालुवाटारमा बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
सामान्य अवस्था नभएकोले चार्टर विमान उडान र अवतरणको अनुमति लिनुपर्ने र त्यसका लागि सरकारले इजरायलबाट स्वीकृति लिइसकेको बताइएको छ ।
नेपाल फर्कन चाहने नेपालीको लगत संकलन परराष्ट्र मन्त्रालयार्फत् भइरहेको बताइएको छ।
द्वन्द्वग्रस्त मुलुक जानुअघि विमानको सबै इन्सुरेन्स गर्नुपर्ने भएकोले युएइबाट सो कार्य सम्पन्न गर्ने र इजरायलको विमानस्थलमा ल्याण्डिङ परमिसन (जहाज अवतरण अनुमति) को प्रक्रिया पनि बुधबार नै लिइने बताइएको छ ।
शनिबार प्यालेष्टिनी विद्रोही समूह हमास इजरायलका विभिन्न स्थानमा रकेट सहित आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु हुनुको साथै ४ जना घाइते भएका थिए । यस्तै, विद्रोही समूहको आक्रमणबाट एक नेपाली वेपत्ता छन् ।
इजरायलमा ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत सुदुरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायमा अध्ययन गर्ने ४९ विद्यार्थी हमासले गरेको आक्रमण क्षेत्रमा फसेका थिए । जसमध्ये ३२ जनालाई इजरायली सेनाले उद्धार गरेर तेल अभिभमा राखेको छ ।
उद्धारमा परेकाहरुले अझै युद्ध जारी रहेकोले नेपाल फर्काउन सहयोग मागिरहेका छन् । हमास विरुद्ध इजरायलले गाजा क्षेत्रमा कारवाही तीव्र पारेको छ ।
युद्ध चर्कने खतरा बढेपछि सरकारले इजरायलमा अध्ययन र कामका पुगेका नेपालीलाई नेपाल फर्काउन जहाज पठाउन लागेको हो ।