काठमाडौं । इलेक्ट्रिक चुरोट भेप मार्फत् ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरासहित चारजनाविरुद्ध आज मुद्दा दर्ता गरेको छ।
कृष्णबहादुर महरा पनि सो प्रकरणमा प्रत्यक्ष जोडिएको प्रमाण हुँदाहुँदै पनि सीआईबीले महराका छोरा राहुल महरा, सर्लाहीको राजघाट घर भइ काठमाडौंको नागार्जुन बस्ने लोकेन्द्रकुमार पौडेल, तिब्बती मुलका बेल्जियम नागरिक दावा छिरिङ शेर्पा र र काठमाडौं बौद्धका निमा गुरुङ विरुद्ध मात्र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
तस्करले गत २०७९ पुस १० गते दुबईबाट ‘भेप’मा लुकाएर ल्याएको नौ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको थियो । जफत गरिएको भेप छाड्न कृष्णबहादुर महराले पटकपटक कर्मचारीलाई तागेता गरेको फोन कलको विवरण प्रहरीले संकलन गरेको थियो । कर्मचारीलाई आफूले त्यो सामान छोड्न आग्रह गरेको स्वीकार गरे पनि कृष्णबहादुर महरालाई सीआईबीले उन्मुक्ति दिएको छ ।
टेलिफोन सम्पर्कका आधारमा मात्र महरालाई मुद्दा चलाउने स्थिति नदेखिएको प्रहरी अधिकृतहरु बताएका छन् । मिसिलमा संलग्न महराको बयान कागजमा महराले तत्कालीन विमानस्थल भन्सारका प्रमुख प्रशासन अरुण पोखरेललाई पहिल्यैदेखि चिनेकाले ‘के भएको हो, कानून बमोजिम के गर्न मिल्छ हेरिदिनु होला’ भनेर फोन गरेको भनेका छन् ।
‘मेरो छोरा राहुल भन्ने रेशम महरा के कारणले उक्त भेप जफत भएको रहेछ, कानून बमोजिम मिल्ने भए सहयोग गरिदिनु होला भनेर भनेर अरुण पोखरेलको सम्पर्कमा गएका हुन्’, उनले भनेका छन्, ‘दाओजिन वाङसँग मेरो पुरानो निजान हो, उनले मलाई आफू एउटा फलफूल व्यापारीको रुपमा नेपालमा व्यापार गर्ने भनेर चिनाएका थिए ।’
उनीसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गरेपनि त्यसबाहेक अरु कुनै किसिमको सम्बन्ध नरहेको दाबी गरेका थिए । थप चिनियाँ नागरिकलाई विवरण खुले र पक्राउ परेका बेला फेरि प्रतिवादी बनाउन मिल्ने गरी अभियोग दर्ता गराइएको सरकारी वकिलको कार्यालयका अधिकारीहरुले बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद भएको थियो । जाँच गर्दा त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरेको खुलेको थियो । भेप साटफेर भएको थाहा पाएपछि खोजबिन गर्दा बरामद भएको भेपमा करिब ९ किलो सुन भेटिएको र त्यसलाई बिक्री गरेको खुलेको थियो ।
























