कञ्चनपुर । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्व सहमतिबाटै टुंगो लगाउन नेताहरु अझै प्रयासरत छन् ।
सहमतिमा नेतृत्व टुंगो लगाउन भन्दै मंगलबारका लागि तोकिएको निर्वाचन बुधबारका लागि सारिएको थियो ।
सहमति खोज्ने अन्तिम प्रयास जारी राखेर नेताहरुले निर्वाचन प्रक्रिया लम्ब्याइरहेका छन् । एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, कमल तिमिल्सिना, भरत साउँद र कञ्चनपुरका वचनबहादुर सिंहको उम्मेदवारी परेको छ ।
जैशी नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले अघि सारेका उम्मेदवार हुन । तिमिल्सिनालाई अध्यक्षमा एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीको समूहले अघि सारेको छ ।
अछामका साउद एमाले नेता भीम रावल निकट मानिन्छन् । सुरुमा रावल पक्षधरले अछामकै तिमिल्सिनालाई अध्यक्ष अघि सारेका थिए । उनी ‘ब्याक’ हुने देखिएपछि रावल समूहले अछामकै साउदलाई उम्मेदवार खडा गरेको हो ।
कञ्चनपुरका सिंहलाई एमाले केन्द्रीय सचिव लेखराज भट्टले अध्यक्षमा अघि सारेका हुन । जैसीलाई सहमतिको अध्यक्ष बनाउने गरी नेताहरुबीच चलिरहेको बताइएको छ ।
ती नेताका अनुसार जैसीलाई अध्यक्ष बनाएर अर्का प्रत्यासी तिमिल्सिनालाई केन्द्रीय समितिमा लैजाने एक किसिमको सहमति भएको बताएएके छ । अध्यक्षका आँकाक्षी सिंह मनाउन नसक्दा सहमति जुट्न ढिलाई भएको बताइएको छ ।
सुदूरपश्चिममा ६ सय ५७ जना एमालेका प्रतिनिधि छन् । तुलनात्मक रुपमा एमाले सुदूरपश्चिममा अहिले भण्डारी समूह बलियो रहेको नेताहरुको दाबी छ।