जनकपुरधाम । नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिएका छन् ।
उनले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी दिएका छन् । अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालले जनाएको छ ।
जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनमा हुने अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओली गर्ने बताइएको छ । अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन् –‘शभ प्रभात ! आइ जनकपुर मे भेंट करी, हम आबी रहल छी । ‘
मधेशका आठ जिल्लामा एमालेका करिब ६३ हजार सक्रिय कार्यकर्तामध्ये एक हजार अधिवेशन प्रतिनिधि चयन गरिएको छ ।
एमाले मधेश प्रदेश अध्यक्षका लागि आधा दर्जन बढी नेता आकांक्षी छन् । केन्द्रीय सदस्य सञ्जीव कुमार झा (सुरज), पोलिटब्युरो सदस्य सुमन प्याकुरेल, पुरुषोत्तम पौडेल, रामदयाल मण्डल, प्रदेश उपाध्यक्ष रेवती पन्त, धनुषा अध्यक्ष राजकिशोर यादव र शिवशंकर साह (हिरा) लगायतले प्रदेश अध्यक्षका लागि लविङ गरिरहेका छन् ।