काठमाडौँ । शेयर बजारको ओरालो यात्रा जारी रहेको छ । शेयर बजार नेप्से परिसूचकले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको छ । आज नेप्से परिसूचक १९.०६ अंक घटेर १८८९.५९ विन्दुमा झरेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ३.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३८ अंक घटेको छ । त्यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स १.२४ अंक घटेको छ।
नेप्से घटे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार १ अर्ब १७ करोडको शेयर खरिदबिक्री भएको बजारमा २८२ स्टकको ४४ हजार ६९ पटकको कारोबारमा १ अर्ब २८ करोड ३१ लाख रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता शेयर किनबेच भएको छ ।
अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.८६ प्रतिशत बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्य सर्वाधिक ७.६४ प्रतिशत घटेको छ। त्यस्तै, गरिमा विकास बैंकको ऋणपत्रको मूल्य यस दिन साढे ५ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा सानिमा जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको २० करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी नबिल बैंकको करिब साढे ३ करोडको शेयर खरिदबिक्री भएको छ ।
त्यस्तै १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधकि १.७९ प्रतिशत घटेको छ ।
कारोबारमा आएका विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।



















