धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका छन् । आइतबारदेखि धनगढीमा जारी अधिवेशनमा आज नयाँ नेतृत्वका लागि साँझ ५ बजेदेखि निर्वाचन हुँदै छ ।
प्रदेश अध्यक्षमा निवर्तमान प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका हुन् ।
तिमल्सिना, जैसी र साउद अछामका हुन् भने सिंह कञ्चनपुरका एमाले नेता हुन् ।
आज बिहान ७ बजेदेखि साढे ११ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । उम्मेदवारी दर्ताको लागि १२:३० सम्म समय थप गरिएको छ ।
उम्मेदवारी फिर्ता गर्न निर्वाचन समितिले २ बजेसम्मको समय तोकेको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ५ बजेदेखि मतदान सुरू गर्ने निर्वाचन समितिको तयारी रहेको छ ।
नेतृत्वका आकांक्षीबीच सहमति खोज्ने प्रयास जारी रहेको एमालेका एक नेताले जानकारी दिएका छन् ।



















