काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले १८/२० जना मारवाडीको हातमा देशको अर्थतन्त्र गइसकेको भन्दै अब केही वर्षभित्रै देशको सत्ता पनि उनीहरुकै हातमा जाने दाबी गरेका छन् ।
जमलस्थित एक होटलमा पत्रकार सम्मेलन गरेर बाहिरिँदा गर्दा प्रसाईमाथि सोमबार मोसो दलिएको थियो । सो घटनाबारे आज बिहान पत्रकार सम्मेलन गर्दै प्रसाईले देश लुट्ने मारवाडीको विरोध गर्दा आफूमाथि आक्रमण भएको बताएका छन् ।
व्यवसायी प्रसाईले आफूले जति आलोचना गरेपनि प्रचण्डले प्रतिक्रिया नजनाएको तर एमालेले मोसो दलेको टिप्पणी गरेका छन् ।
प्रसाईंले गणतन्त्रमा बोल्न पाइन्छ भनिए पनि आफ्नो अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लाउन खोजिएको गुनासो गरेका छन् ।
उनले देश बचाउन मूलधारका मिडियाले नसक्ने भन्दै युट्युबरको हातमा देश जोगाउने जिम्मेवारी आएको टिप्पणी समेत गरेका छन् । उनले आफ्नो आन्दोलनमा सरिक हुन युट्युबरहरूलाई आह्वान पनि गरेका छन् ।
आजबाट आन्दोलन सुरु भएको उद्घोष गर्दै व्यवसायी प्रसाईले देश जोगाउन सवैले आआफ्नो ठाउँबाट आन्दोलन गर्न आग्रह पनि गरेका छन् ।
व्यवसायी प्रसाईंलाई केही युवाले मोसो दलेका थिए । ती युवालाई एमाले नेता महेश बस्नेतले पठाएको प्रसाईको आरोप छ ।
उता नेता बस्नेतले जथाभावी बोल्दै नहिड्न र जे पयो त्यही आरोप नलगाउन चेतावनी दिएका छन् ।
दुर्गा प्रसाईंलाई ‘युवाले तह लगाएको’ टिप्पणी गर्दै एमाले नेता बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बैंक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, कालोमोसो दल्छु भन्ने आपराधिक कर्म गर्ने दुर्गा प्रसाईंलाई युवाहरूले आज तह लाएछन् । अब सुध्रिऊ, अरूलाई दोष नलगाऊ । यस्तालाई सरकारले कारबाही गरोस् । जनप्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाई !’



















