धनगढी । नेकपा एमाले सुदुर पश्चिम प्रदेश कमिटीको भावी नेतृत्वका लागि सहमतिको प्रयास सफल नभएपछि आज मतदान हुने भएको छ ।
निर्वाचन समितिका अनुसार आज साँझ ५ बजे देखि मतदान सुरु गर्ने गरी तयारी थालिएको छ ।
प्रमुख निर्वाचन अधिकृत पदम पालले सार्बजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार हिजो साँझ ६ बजे मतदाता नामावली प्रकाशन गरिएको थियो भने राती ९ बजेसम्म उम्मेदवार दर्ता फारम बितरण गरिएको थियो ।
निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजे देखी ९ः३० बजेसम्म उम्मेदवारी दर्ता, ११ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन तथा दिउसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने साँझ ६ बजेबाट मतदान सुरु हुुनेछ ।
गत आइतवार अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । भावी नेतृत्वका लागि हिजो दिनभर सर्वसम्मतको प्रयास भए पनि सफल नभए पछि हिजो साँझबाट नै निर्वाचन प्रक्रिया अघि बढाईएको हो ।
प्रदेश अध्यक्षका लागि अछामका कृष्णप्रसाद जैशी र कमल तिमिल्सिना दावेदारी प्रस्तुत गरेकाा छन् भने कञ्चनपुरका वचन सिंहले पनि अध्यक्षमा दाबी गर्दै आएका छन् । नेतृत्वका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।