विराटनगर । विराटनगर महानगरपालिका-९ मा रहेको ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीले जन्माएको बच्चा (शिशु) बिक्री गरिएको घटनामा संलग्न चिकित्सकसहित ६ जनाविरुद्ध सोमबार मुद्दा दर्ता गरिएको छ।
अभियुक्तविरुद्ध जिल्ला अदालत मोरङमा अपहरण तथा व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसूरमा मुद्दा दायर भएको हो।
घटनाको अनुसन्धान सकेर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै ६ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको छ। प्रहरीले गत शुक्रबार वकिल कार्यालयमा मिसिल बुझाएको थियो।
मुद्दामा विराटनगर महानगरपालिका-२ तीनपैनी घर भएका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय तपेश्वरलाल कर्ण, सिरहा घर भई विराटनगर-११ जनपथ टोल बस्ने ४० वर्षीया नीरु भनिने निर्मला यादव, भोजपुरको हतुवागढी गाउँपालिका-४ का २७ वर्षीय गोविन्द राई, मोरङको कटहरी गाउँपालिका-२ आदर्श टोलकी ३३ वर्षीया सुधा भनिने सुक्री राजवंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी र ४७ वर्षीया दिलमनीदेवी राजवंशीलाई प्रतिवादी बनाइएको छ।
जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार इजलासमा प्रतिवादीहरूको बयान मंगलबारबाट सुरु हुने छ।























