काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३५.६७ अंकले घटेको हो ।
गत बिहीबार नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर व्यक्तिगतका लागि १५ करोड र संस्थागतका लागि २० करोड बनाएको थियो। जसको प्रतिक्रिया आइतबारको बजारले देखाएको हो ।
कारोबार सुरु भएदेखि नै ओरालो लागेको बजार परिसूचक अन्तिमसम्मै सुधारको प्रयास नगर्दा नेप्से ऋणात्मक बनेको हो। नेप्से १.८२ प्रतिशतले घटेर १९२१.२४ अंकमा कायम भएको हो। यो बिन्दु ४ महिनाकै न्यून बिन्दु हो ।
कारोबारमा आएका २१३ स्क्रिप्टको मूल्य घट्दा नेप्से घटेको हो। यसदिन१६ स्क्रिप्टको मूल्य बढ्दा ४ वटाको स्थिर रहे। नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स ५.७९ अंकले घटेर ३६७.५७ अंक कायम भएको छ।
घटेको बजारमा दिनभर २८९ स्क्रिप्टको ५८ लाख १५ हजार १ सय ८९ कित्ता सेयर १ अर्ब ८० करोड१७ लाख ६६ हजार रुपैयाँमा किनबेच भएका छन्। कारोबार रकम गत बिहीबारको तुलनामा ७० करोड बढी हो। बिहीबार १ अर्ब १० करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको थियो।
नेप्से घटेको दिन सबैभन्दा बढी बाराही हाइड्रोका लगानीकर्ताले कमाएका छन्। मूल्य बढेकामध्ये बाराहीको सेयर शीर्ष स्थानमा रह्यो। कम्पनीको सेयर मुल्य ९.५९ प्रतिशतले बढ्दा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको भाउ ९.४ प्रतिशतले बढेको छ।
यता २ वटा कम्पनीको सेयर मुल्यमा नेगेटिभ सर्किट लागेको छ। हिमालयन लघुवित्त र गरिमा डिबेन्चरको भाउ १० प्रतिशतले घटेको हो। घलेम्दी हाइड्रो, मायाखोला हाइड्रो र मन्दाकिनी हाइड्रा पनि मूल्य घट्नेको सूचीमा शीर्ष पाँचमा रहे।
कारोबार रकमका आधारमा शिभम् सिमेन्ट, रिलायबल नेपाल र नबिल बैंक अगाडि रहे। शिभम्को सर्वाधिक ६ करोड ७३ लाखको सेयर किनबेच हुँदा रिलायबलको ५ करोड ५७ लाख र नबिलको ५ करोड ३४ लाखको सेयर कारोबार भएको छ।
दिनभर कुल ५९ हजार १ सय ७१ कारोबार भए। नेप्से घटेको दिन लगानीकर्ताको कुल सम्पत्ति ५३ अर्बले घटेको छ। बिहीबार २९ खर्ब ८३ अर्ब ८८ करोड रुपैयाँ रहेको बजार पुँजीकरण २९ खर्ब ३० अर्ब ४४ करोड रुपैयाँमा खुम्चिएको हो।
नेप्से घटेको दिन समूहगत उपसूचक सबै राताम्ये बने। जलविद्युत् उपसूचक सर्वाधिक २.७२ प्रतिशतले घटेको छ । सबै समूहगत उपसूचकमा १ प्रतिशतको गिरावट आएको छ ।

























