काठमाडौँ । सरकारले चाडपर्व लक्षित सस्तो पसल आजदेखि सञ्चालन गर्दै छ । काठमाडौँ उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थल राखेर पसल सञ्चालन हुँदैछ ।
उपत्यकाबाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालिकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल रहने छन् ।
सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्टाएको छ । साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपियाँ छुट्टाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपियाँ मूल्य तोकेको छ । बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिने कम्पनीले जनाएको छ ।
दुग्ध विकास संस्थानले घ्यूमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिने जनाएको छ ।
खाद्य व्यापार कम्पनीले सञ्चालनमा ल्याएका सुपथ मूल्यका पसलबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो, र सबै प्रकारका तेलमा प्रतिकिलो÷प्रतिलिटर सात रूपैयाँ तथा कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट पाउनेछन् ।
उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र सूर्यविनायक तथा विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्न उपलब्ध हुनेछ।
खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्नेछ । कम्पनीले थापाथालीस्थित बागमती प्रादेशिक कार्यालयका साथै देशभरका बिक्री कक्षबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
यस्तै साल्ट्र ट्रेडिङले पनि काठमाडौं उपत्यकाको सतुङ्गल, कालीमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर र सिफलसहित देशभरका कार्यालयमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ ।
























