काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष चाडपर्व लक्षित नयाँ तथा सुकिलो नोट सटही घटस्थापनाको दिन नजिक पारेर सुरु गर्ने तयारी गरेको छ ।
यस वर्ष पनि गतवर्ष जस्तै चाडपर्वका लागि सबै दरका गरेर प्रतिव्यक्ति साढे १८ हजार हाराहारीमा नोट सटही गरिने मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरेश शाक्यले जानकारी दिए।
उनका अनुसार घटस्थापनाको भोलिपल्ट अर्थात् असोज २९ गतेबाट आम सर्वसाधारणलार्ई सुकिलो तथा नयाँ नोट सटही सुरु गर्ने तयारी छ ।
कार्यकारी निर्देशक शाक्यका अनुसार सर्वसाधारणले रु. ५, रु. १०, रु. २०, रु. ५० र रु. १०० दरका एक–एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँका नयाँ तथा सफा नोट सटही गर्न पाउने छन्। करिब १० अर्ब रुपैयाँबराबरको नयाँ नोट सटही हुने लक्ष्यस्वरूप तयारी भइरहेको उनले जानकारी दिए ।
गत वर्षको तुलनामा यसवर्ष सटही खुलाउनमा ढिलाइ हुने देखिएको छ । गत वर्ष भने असोज १० गते घटस्थापना आउनु ८–१० दिनअघिबाटै नयाँ नोट दिन सुरु गरिएको थियो । जबकि गत वर्ष सरकारी स्वामित्वका बैंकहरूले भदौ ३० देखि सर्वसाधारणलार्ई र अन्य केही निजी बैंकहरूले असोज २ गतेदेखि सर्वसाधारणमा सटही खुला गरेका थिए ।
नेपाल राष्ट्र बैंकले असोज १९ गतेदेखि रुपैयाँ २० दरको ९ लाख ९९ हजार ९ सय ९९ थान नयाँ नोट प्रचलनमा ल्याएको छ। केन्द्रीय बैंकले शुक्रबार सूचना प्रकाशन गर्दै सो नोट चलनचल्तीमा ल्याएकोबारे सर्वसाधारणका लागि जानकारी दिएको हो। केन्द्रीय बैंकले २० रुपैयाँ दरको नोट साबिककै आकार तथा रङमा प्रचलनमा ल्याएकोे छ ।

























