धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्र बझाङको स्थलगत निरीक्षण गरेका छन् ।
प्रधानमन्त्री दाहालसँग उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खडका, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउँद, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टलगायतको टोली लिएर पुगेका प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित बझाङको सदरमुकाम चैनपुरमा क्षतिग्रस्त संरचनाको निरीक्षण अनुगमन गरेका छन् ।
बझाङमा भूकम्पबाट भएको जनधनको क्षतिबारे सुरक्षा अधिकारी तथा स्थानीय तहका जनप्रतिनिधिसँग जानकारी लिएका प्रधानमन्त्री दाहालले भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएका पीडितलाई तत्काल राहत स्वरुप ५० हजार रुपैयाँ राहत दिने बताएका छन् ।
राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि रकम घोषणा गरेका प्रधानमन्त्री दाहालले भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च दिने घोषणा गरेका छन् ।
राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन गरिनेछ बताइएको छ । थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताइएको छ ।
भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको छ भने भूकम्पले निम्त्याएको पहिरोमा परी मृत्यु भएकाको परिवारलाई तत्काल २ लाख सहयोग दिने बताइएकोछ ।
भूकम्पले भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालिन पुननिर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई यसअघि गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामाग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निमाणको काम अगाडि बढाइने प्रतिबद्धता सरकारले जनाएको छ ।
सरकारी कार्यालय, सामुदायिक भवन, स्कूल आदी क्षति पुगेका संरचनाहरूको यथाशीघ्र पुनः निर्माण गरिने बताइएको छ ।