काठमाण्डाै । दशैँलाई लक्षित गरेर सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ ।
अघिल्ला वर्षमा दशैँ शुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना शुरु हुन नौ दिन मात्रै बाँकी हुँदासमेत खुल्ने तयारी देखिएको छैन । नेपालीहरुको सबैभन्दा ठूलाे चाड दशैँमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुन्छन् ।
समयमै टिकट खोल्दा घर जान चाहने विद्यार्थीलाई सहज हुने गरे पनि समयमा अग्रिम टिकट बुकिङ नखोली दशैँको मुखमा खोल्दा यात्रुलाई दोब्बर/तेब्बर भाडा तिरेर घर जानुपर्ने अवस्था आउने गरेको छ । यातायात व्यवसायी भने निरन्तर वर्षाका कारण बाटो बिग्रिएका कारण दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउन समस्या परेको बताउँछन् ।
देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला देशका मुख्य राजमार्ग बिग्रेका कारण अग्रिम टिकट बुकिङमा ढिलाइ भएको बताउँछन् । देशभरका सडकमा रहेका खाल्डाखुल्डीले गर्दा गाडी दुर्घटनाको जोखिम रहेको उनको भनाइ छ ।
महासङ्घका अनुसार अहिले मुग्लिङ–पोखरा, नारायणघाट–बुटवल, वीपी, अरनिको, ढल्केवर, कोशी ब्यारेजलगायतका राजमार्ग बिग्रेका छन् ।
यस्तै, काठमाण्डाैबाट नुवाकोट हुँदै रसुवासम्म जाने बाटोसमेत बिग्रेको छ । सरकारले ३५ प्रतिशत भाडा पेट्रोलियम पदार्थको मूल्यका आधारमा र ६५ प्रतिशत गाडीलाई आवश्यक अन्य सामग्री र जनशक्तिलाई दिइने तलबलगायतका सुविधाका आधारमा निर्धारण हुँदै आएको छ ।
वरिष्ठ उपाध्यक्ष सिटौला पेट्रोलियम पदार्थको आधारमा ३५ प्रतिशत भाडा समायोजन भए पनि बैंकको ब्याजदर, लुब्रिकेन्ट, टायर, तलब भत्तालगायतका सुविधाका लागि ६५ प्रतिशत भाडामा समायोजन नभएको बताउँछन् ।
बाटोको अवस्था राम्रो भए आफूहरुलाई अग्रिम टिकट बुकिङ खोल्न कुनै आपत्ति नरहेको उनको भनाइ छ । दशैँकाे समयमा काठमाण्डाै उपत्यका र उपत्यका बाहिरबाट पनि एउटा जिल्लाबाट अर्को जिल्लामा धेरै यात्रु जाने गरेका छन् । क्षमताभन्दा बढी यात्रु बोक्दा वा खराब अवस्थाका गाडीका कारण दुर्घटनाको जोखिम रहन्छ । कसरी यात्रुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पुर्याउन सकिन्छ भन्नेबारे अहिलेदेखि नै तयारी हुनुपर्छ ।
यातायात व्यवस्था विभागले चाँडै नै अग्रिम टिकट बुकिङ खोल्नेबारे सरोकारवाला निकायसँगको छलफल शुरु गरेको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल अग्रिम टिकट बुकिङको बारेमा विभाग चाँडै निष्कर्षमा पुग्ने बताउँछन् ।
महानिर्देशक रिजालले नेपालको सार्वजनिक यातायातको सङ्ख्या र यात्रुको चापलाई हेरेर विभाग अगाडि बढ्ने बताउँछन् । विभागले चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग समन्वय गर्ने जनाएको छ । ट्राफिक प्रहरीले पनि चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गर्ने जनाएको छ ।
काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट काठमाण्डाै महानगरपालिका र यातायात व्यवस्था विभागसँगको सहकार्यमा यात्रु सहायकता कक्षा स्थापना गरिने बताउँछन् ।
यातायात व्यवसायीका अनुसार प्रत्येक वर्ष चाडपर्वमा लाखौँ व्यक्ति काठमाण्डाै छाड्ने गरेका छन् । अहिले काठमाण्डाैको गोँगबुमा रहेकाे नयाँ बसपार्कबाट लामो तथा मध्यम दूरीका गाडी देशका ६५ भन्दा बढी जिल्लामा सञ्चालन हुँदै आएका छन् ।

























