
सिरहा। सिरहाको कल्याणपुर नगरपालिकामा जनप्रतिनिधिबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले २७ आश्रुग्यास र हवाई फायर गरेको छ । नगर प्रमुख रामपुकार साह र चार दिनदेखि धर्नामा बसेका वडाध्यक्षहरु पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।
दुवै पक्षबाट ढुंगामुढा भएपछि स्थिति तनाबग्रस्त बनेको बताइएको छ ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले झडपको स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले १२ सेल र सशस्त्र प्रहरीले १५ सेल आश्रुग्यास प्रहार गरेको बताएका छन् । उनले हाम्रो नेपाल प्रहरीले थ्रिनटथ्रि राइफलबाट ५ राउण्ड हवाई फायर समेत गरेको बताएका छन् ।
डिएसपी पाण्डेका अनुसार ढुंगा हानाहानबाट ४ जना नेपाल प्रहरी र दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् भने दर्जनौं व्यक्ति घाइते भएका छन् । सर्वसाधारण घाइते भएपनि प्रहरीको सम्पर्कमा नआएको बुझिएको छ ।
स्थानीयका अनुसार नगर प्रमुख र वडाध्यक्षहरु दुबै पक्षका दर्जनौं व्यक्ति घाइते भएका छन् । झडकका क्रममा ढुंगामुढा हुँदा नगरपालिका कार्यालयको झ्यालको सिसाहरु फुटेको बताइएको छ । दुबै पक्षलाई सम्झाई बुझाई गरेपछि अहिले स्थिति सामान्य बनेको प्रहरीले जनाएको छ ।
नगर प्रमुख साहले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक नगरेको भन्दै ६ वटा वडाध्यक्ष ४ दिनदेखि धर्नामा छन् । धर्नाका कारण कार्यालयको कामकाज समेत प्रभावित भएको थियो ।
वडाध्यक्षहरु धर्ना बसेका बेला नगर प्रमुख साह १५/२० जना बाहिरका व्यक्ति लिएर अचानक कार्यालय प्रवेश गरी धाकधम्की लगाएपछि तनाव भएको र पटक पटक झडप भएको स्थानीयले बताएका छन् ।
नगर प्रमुख साह एमालेबाट निर्वाचित भएका छन् । कल्याणपुरमा १२ वटा वडाध्यक्ष छन् । जसमध्ये नेपाली कांग्रेस, नेकपा एस र जसपाका ६ वटा वडाध्यक्ष विगत ४ दिनदेखि आन्दोलनमा छन् । उनीहरुले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

























