काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै काम नगर्न चेतावनी दिएको छ ।
बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण-प्रकाशन नगर्न-नगराउन चेतावनी दिएको हो ।
‘नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता सञ्चार सामग्रीहरू प्रचार-प्रचार नगर्न नगराउन पुन: अनुरोध गर्दै त्यस्ता गतिविधि गरे गराएको पाइएमा कानून बमोजिम कडा कारबाही गरिनेछ,’ वक्तव्यमा उल्लेख छ ।
साथै प्रशासनले बाँकेमा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सहयोग गर्न धार्मिक अगुवा, नागरिक समाज, सञ्चारकर्मीलगायत नागरिकलाई अनुरोध गरेको छ ।
हिन्दु र मुस्लिम धर्मावलम्बीबीच धार्मिक सद्भाव भड्किने संकेत देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले उपमहानगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
पछिल्लो समय नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच सद्भाव भड्किने गतिविधि हुँदै आएका स्थानीय प्रशासनले जनाएको छ।