काठमाडौं । भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी छन् ।
न्यायका लागि नेपालगञ्जबाट काठमाडौं आएकी भारतीले माइतीघरमा रिले अनसन सुरु गरेकी हुन । भारतीले न्याय नपाएसम्म घर नफर्किने बताएकी छिन् ।
अनशनस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भारतीले न्याय नपाएसम्म संघर्ष जारी राख्ने बताउँदै आफू मर्न पनि तयार भएकी बताएकी छिन् ।
रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैद भएको थियो ।
उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि रिगल छुटे ।
कैद मिनाहा दिने राष्ट्रपतिको सोही निर्णयविरुद्ध चेतनकी श्रीमती भारती हत्यामा संलग्नलाई फेरि पनि जेल चलान गर्नुपर्ने माग गर्दै अनसन बसेकी हुन ।
रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भएको छ ।



















