काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा दिइएको कैद मिनाहाप्रति प्रश्न उठाएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै एमाले अध्यक्ष ओलीले संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगल, युवती माथि एसिडि हान्ने व्यक्तिलगायतको कैद माफीप्रति आपत्ति जनाए ।
ओली भने ‘एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ, नेपालगञ्ज आतंकित छ । पीडित परिवार आतंकिंत छ । यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ ? किन सम्मानित गरिन्छ ।’
ओलीले नेपालगञ्जका चेतन मानन्धरलाई बजारमा लखेटी लखेटी हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई माफी दिएर सरकारले अराजकता निम्त्याएको बताएका छन् भने पर्साकी मुस्कान खातुनलाई एसिड हान्ने घटनाका दोषीलाई पनि सरकारले माफी दिएकोमा आपत्ति जनाउँदै भने “मेरै सरकारको पालामा एसिडासम्बन्धी कडा कानुन बनाएको थियो । तर अहिले एसिडपीडित मुस्कान खातुन उपचारमा रहेकै बेला माफी दिइएको छ, अहिले मुस्कान पेटको मासु काटेर घाउको उपचार गर्दैछिन् । यता सरकार अपराधीलाई आधा सजाय नहुँदै माफी दिन्छ ।”