नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता खल्बलिने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आज मध्यान्हदेखि अनिश्चितकालीन कर्फ्य आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताएका छन् ।
केही दिन यता नेपालगञ्जमा धार्मिक तनाव बढेको छ । दुई समुदायबीच बढेको तनावले उग्ररुप लिने अवस्था देखिएपछि प्रशासनले कर्फ्य आदेश जारी गरेको हो । नेपालगञ्जमा आइतबार मुस्लिमहरुले प्रदर्शन गरेका थिए भने आज हिन्दु समुदायले शक्ति प्रदर्शन गरेको छ । त्यसअघि आज विहान शान्ति र सद्भाव कायम गर्न आह्वान गर्दै सद्भाव र्याली निकालिएको थियो ।
पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुश तथा सभा समारोह, हुलहुज्जत गर्न नपाइने प्रशासनले जनाएको छ ।
यसैवीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद धवलशमशेर राणाले नेपालगञ्जमा सद्भाव कायम गर्न अपिल गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सद्भावको शहरमा अशान्ति नफैलाउन नेपालगञ्जबासीहरुलाई अनुरोध गरेका छन् ।
उनले सरकारलाई हिंसाका घटनालाई नियन्त्रणमा लिन समेत आग्रह गरेका छन् । साइबर क्राइमलाई प्रभावकारी कारबाहीको दायरामा ल्याउन उनको माग छ ।