काठमाडौ । एसियाली क्रिकेट अन्तर्गत चीनको हाङझाउमा आज सम्पन्न टी२० क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।
भारतले प्रस्तुत गरेको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर एक सय ७९ रन मात्र बनाउन सकेको थियो । यद्यपि भारतविरुद्ध नेपालको खेल प्रदर्शन निकै प्रशंसायोग्य भएको क्रिकेटप्रेमीहरुको टिप्पणी छ ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाएका थिए भने कुशल भुर्तेलले २८, आसिफ सेखले १०, कुशल मल्लले २९, कप्तान रोहित पौडेलले ३, सन्दीप जोराले २९, सोमपाल कामीले ७, गुल्सन झाले ६, करन केसीले अविजित १८ तथा सन्दीप लामिछानेले ५ रन बनाएका थिए ।
भारतका लागि रवी बिस्नोई र अभेष खानले समान ३र३ विकेट लिएका थिए । अर्शदीप सिंहले २ तथा साई किशोरले १ विकेट लिए । यसअघि टस जितेर भारतले पहिले ब्याटिङ गरेको थियो । भारतका लागि यशस्वी जयसवालले एक सय रन बनाए । उनले ४९ बलमा शतक बनाएर नेपालमाथि दबाब बनाएका थिए । साथै ऋतुराज गायक्वाडले २५, शिभम दुबेले २५ तथा रिन्कु सिंहले आक्रामक ३७ रन बनाएका थिए ।
नेपाली बलर दीपेन्द्रसिंह ऐरीले २, सन्दीप लामिछाने र सोमपाल कामीले समान एक/एक विकेट लिएका थिए ।
यो हारसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीको टी–२० क्रिकेटको सेमिफाइनल खेल्ने सपना अधुरै रहेको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल र भारत टी–२० आईमा पहिलोपटक आमनेसामने भएका थिए । एसियाडमा भारतले सिधै क्वार्टरफाइनलमा स्थान बनाउँदा नेपाल भने समूह एको विजेता बन्दै अन्तिम ८ मा पुगेको थियो ।
नेपालले समूह चरणको पहिलो खेलमा मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित हासिल गरेको थियो । दोस्रो खेलमा नेपालले मालदिभ्सलाई १ सय ३८ रनले हराएको थियो ।
























