काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसंग अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले भेटवार्ता गरेकी छिन् ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटवार्तामा एमसीसी परियोजना लगायत नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भदौ १३ गतेदेखि एमसीसी परियोजना कार्यान्वयन सुरु भएको थियो ।
आइतबार पाँच दिने नेपाल भ्रमणमा आएकी बलब्राइटले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला लगायतसँग भेटवार्ता गरिसकेकी छन् ।
अमेरिका र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट एमसीसी परियोजना कार्यान्वयनमा गएको छ । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत अलब्राइटले नेपाल–अमेरिका बीचको द्विपक्षीय साझेदारी मनाउन र एमसीसी–नेपाल कम्प्याक्ट सम्झौताको सफल सुरुवातको उपलक्ष्यमा नेपाल भ्रमण गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
नेपालमा रहँदा उनले विभिन्न मन्त्री र अन्य सरकारी उच्च अधिकारीसँग भेटवार्ता गर्ने तय भएको छ ।