मोरङ । नेकपा (एमाले) कोशी प्रदेशको अध्यक्ष पदमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको आज बिहान सार्वजनिक गरिएको मतपरिणामअनुसार खतिवडाले पाँच सय १२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी विनोद ढकालले चार सय ३० मत प्राप्त गरेका छन् ।
यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित भएका छन् । ५२४ मत ल्याएर विजयी भण्डारी विजयी हुँदा अर्का उम्मेदवार उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरेका छन् । भण्डारी खतिवडा प्यानलबाट उम्मेदवार भएका थिए ।
उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६२८ मत र खोटाङका देवान राई ६१० मत ल्याएर निर्वाचित भएका छन् । दुवैजना नै खतिवडा प्यानलका हुन् ।
उपसचिवका अर्का उम्मेदवार मोरङका खेम नेपालीले ३९८ मत ल्याएका छन् ।
उपाध्यक्षमा टीकाराम चेम्जोङ यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । अन्य सदस्यको मतगणना जारी रहेको निर्वाचन कमिटीले जनाएको छ । आइतबार राति भएको निर्वाचनमा ९७७ मत खसेको थियो ।