विराटनगर । नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि १२ वजेबाट मतदान शुरु हुँदैछ । पार्टी नेतृत्वले प्यानल बनाउन निषेध गरे पनि पदाधिकारीसहित प्यानल बनाएर उम्मेदवारी दर्ता भएको छ ।
प्रदेश अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालबीच प्रतिस्पर्धा हुँदैछ । उपाध्यक्षमा भने टीकाराम चेम्जोङ्ग निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सचिवमा उदयपुरका शैलेश लामा, पाँचथरका राजकुमार भण्डारी र झापाका हीरा थापाले मनोनयन दर्ता गराएका छन् । उपसचिवमा झापाकी जलवर्ष राजवंशी, संखुवासभाका भविश्वार गुरुङ, मोरङका खेम नेपाली र खोटाङका देवान राईले मनोनयन दर्ता गराएका छन् ।
अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।
सदस्यका लागि भने भूगोलअनुसार मनोनयन दर्ता भएकाले तथ्यांक निकाल्ने काम भइरहेको छ । उम्मेदवारको दाबी विरोध गर्ने समय सकिएर बिहान ९ बजेसम्म मनोनयन फिर्ताको समय दिइएको छ ।
शुक्रबार उद्घाटन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीदेखि शीर्ष नेताले सहमतिमा नेतृत्व चयन गर्न र सर्वसम्मत नभए प्यानल नबनाई स्वस्थ्य प्रतिस्पर्धा गर्न निर्देशन दिएका थिए ।
अध्यक्षका प्रतिस्पर्धीले अघोषित प्यानल बनाएका छन् । उपाध्यक्ष चेम्जोङ्गलाई दुवै पक्षले आफ्नो प्यानलको दाबी गर्दै आएका छन् । सचिवमा खतिवडाको प्यानलमा राजकुमार भण्डारी र ढकालको प्यानलमा शैलेस लामा छन् ।
उपसचिवमा जलवर्षा राजवंशी खतिवडा पक्षमा देखिए पनि अन्य तीन उपसचिव खुलेका छैनन् । अहिले पनि आ–आफ्नो प्यानलमा तान्ने र एकजनाको मनोनयन फिर्ता गर्न लगाउने प्रयास जारी रहेको बताइएको छ ।