काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाइएको निगमले जनाएको छ । बढेको मूल्य शनिबार राति १२ः०० बजेबाट लागू भएको छ ।
यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर रु दुई हजार एक सय १० पुगेको छ । यसअघि १ हजार ८ सय ९५ थियो । उपभोक्ताले डिपोदेखि भान्सासम्म ल्याउँदा ज्यालासमेत जोड्दा २२ सय नाघ्ने छ ।
ग्यासको मूल्यमा भएको यो वृद्धि ११ प्रतिशतभन्दा बढी हो भने साउन यता २७ प्रतिशतले वृद्धि भएको छ । गत साउनयता मात्र खाना पकाउने ग्यास ४ सय ५० रुपैयाँले महँगिएको छ ।
यसअघि भदौ १४ गते मात्र २ सय ३५ रुपैयाँले ग्यासमा मूल्य बढाइएको थियो । त्यतिन्जेल १ हजार ६ सय ६० रुपैयाँ प्रतिसिलिन्डर खुद्रा बिक्री हुँदै आएको थियो ।
ग्यासमा भएको चर्को मूल्यवृद्धिले न्यून र मध्यम आयस्रोत भएका उपभोक्तामा मारमा परेका छन् ।
पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोबाट बिक्री हुने ठाउँ)मा प्रतिलिटिर रु एक सय ८२ दशमलव पाँच, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा रु एक सय ८४ र काठमाडौँ, पोखरा र दिपायलमा रु एक सय ८५ पुगेको छ ।
त्यसैगरी डिजेलको मूल्य पहिलो वर्गमा एक सय ७६ दशमलव पाँच, दोस्रो वर्गमा रु एक सय ७८ र तेस्रो वर्गमा रु एक ७९ प्रतिलिटर कायम भएको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु एक सय ४४ र अन्तर्राष्ट्रियको मूल्य एक दशमलव ०९५ अमेरिकी डलर कायम भएको छ ।