विराटनगर । नेकपा एमालेको कोशी प्रदेश कमिटीको अधिवेसन आजबाट सुरु हुदैँछ । अधिवेशनको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दै छन् ।
आज र भोलीसम्म चल्ने भनिएको कोशीमा अधिवेशनको उदघाटन सत्रमा पार्टी अध्यक्ष ओलीसहित पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरूको पनि सहभागीता रहनेछन् ।
अधिवेशनमा कोशी प्रदेशका १३७ पालिकाका प्रतिनिधि, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाईएको छ । सो अधिवेशनले ५ जना पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।
नयाँ नेतृत्वका लागि सर्वसम्मतको प्रयास हुने र सर्वसम्मत हुन नसके निर्वाचनबाट टुंगो लगाइने नेताहरुले बताएका छन् । कोशी प्रदेश कमिटीको नेतृत्वका लागि वर्तमान अध्यक्ष तुलसीप्रसाद न्यौपानेसहित ४ जना दाबेदार देखिएका छन् । न्यौपानेका साथै केन्द्रीय सदस्य विनोद ढकाल, वर्तमान उपाध्यक्ष टीकाराम चेम्जोङ्ग र घनश्याम खतिवडा आकांक्षी छन् ।
























