तानसेन । पाल्पामा कार्यरत चिकित्सकले सुरक्षाको माग गर्दै तानसेनमा प्रदर्शन गरेका छन् । पाल्पाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत आवासीय चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति पाल्पाको आयोजनामा तानसेनमा विरोध कार्यक्रम भएको हो ।
पाल्पाका आवासीय चिकित्सकले सम्पूर्ण स्वास्थ्यकर्मीको पूर्ण सुरक्षा हुनुपर्ने,दोषीमाथि कडाकारबाही गर्नुपर्नेलगायतका नारा लगाउँदै तानसेनका विभिन्न चोकचोकमा पुगी विरोध गरेका हुन् ।
मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लामा स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा पनि राज्यले सुरक्षा प्रदान गर्न नसकेको भन्दै आन्दोलनमा उत्रिएका आवासीय चिकित्सकले विभिन्न ४ वटा मुख्य मागहरू पूरा हुनुपर्ने बताएका छन् ।
बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गुण्डागर्दी शैलीमा आक्रमण हुँदा समेत दोषीलाई कारबाही नभएको भन्दै आवासीय चिकित्सकले स्वास्थ्यमन्त्री र तथा गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।