काठमाडौं । श्रृंखलावद्ध आक्रमण हुन थालेको भन्दै सुरक्षाको ग्यारेन्टीका लागि चिकित्सकहरू सडकमा उत्रिएका छन् । डाक्टरहरुमाथि विभिन्न जिल्लामा आक्रमणका श्रृंखला बढ्दै गएपछि सुरक्षा र पेशागत हितको माग राख्दै डाक्टरहरू प्रदर्शनमा निस्किएका हुन् ।
हेटौडामा डाक्टरमाथि कुटपिट भए पछि आन्दोलित चिकित्सकहरुसँग सहमति भएको केही दिनमै हिजोमात्र पोखरास्थित मणिपाल शिक्षण अस्पताल, लमजुङ अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमण भएपछि डाक्टरहरू आन्दोलित भएका हुन ।
माइतीघरमा विरोध प्रदर्शन गर्दै चिकित्सकहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेका छन् ।
डाक्टरहरूले कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने आवाज उठाएका छन् ।
यसैवीच लमजुङ जिल्ला अस्पतालमा कार्यरत डाक्टर सन्दीप अधिकारीलाई कुटपिट गर्ने बेसीशहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेतलाई प्रहरीले पक्राउगरेको छ ।
वडाध्यक्ष बस्नेतका आफन्त पर्ने बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । उनको चेकजाँच गरी राति साढे १० बजेतिर वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेत आएर आइतबार डाक्टरमाथि कुटपिट गरेका थिए ।