काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको प्रथम अधिवेशनको बन्दसत्र मंगलबार हुँदैछ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुने बन्दसत्रमा प्रदेश अध्यक्ष केशवराज पाण्डेले राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ ।
अधिवेशनमा प्रदेशभरबाट एक हजार १३८ जना प्रतिनिधि सहभागि रहेका छन् । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।
नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास भइरहेको बताइएको छ । बन्दसत्र पछि आजै निर्वाचनको कार्यक्रम सुरू हुने बताइएको छ ।
प्रदेश अध्यक्षका लागि वर्तमान प्रदेश अध्यक्ष नुवाकोटका पाण्डेदेखि एमालेका केन्द्रीय सदस्यसहित ५ जना आकांक्षी देखिएका छन् । मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुंगेल, दोलखाकी रचना खड्का, काठमाडौंका सानुकुमार श्रेष्ठलगयातले आकांक्षा देखाएका छन् । नेतृत्वका आकांक्षी धेरै देखिए पनि दाहाल र ढुङ्गेलबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको नेताहरुले बताएका छन् ।