काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच आज विहान राजधानी बेइजिङमा भेटवार्ता भएको छ ।
भेटमा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल भएको बताइएको छ ।
बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा विद्युत्, सडक पूर्वाधार, कृषि लगायतका १३ वटा विषयमा नेपाल र चीनबीच सम्झौता भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको सम्मानमा चीन सरकारको तर्फबाट चिनियाँ जनमुक्ति सेनाले सलामीसहित गार्ड अफ अनर प्रदान गरेको थियो । गार्ड अफ अनरपछि द्विपक्षीय भेटवार्ता भएको हो ।
चिनियाँ राष्ट्रपति सी जिनफिङसँग हाङजाउ सहरमा भएको भेटमा भएको कुराकानीका आधारमा सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको बताइएको छ ।
समकक्षी ली छ्याङसँगको भेटअघि प्रधानमन्त्री प्रचण्ड र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग भेटवार्ता भएको थियो ।
चीन बसाइको क्रममा प्रधानमन्त्री दाहालले छोङछिङ्ग महानगरपालिकामा चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे अवलोकन गर्ने र बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूचीसमेत छ ।
त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सिमाना जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा जानेछन् । प्रधानमन्त्री दाहाल असोज १३ गते नेपाल फर्कने कार्यक्रम छ ।