रोम । इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले अनियमित आप्रवासन नियन्त्रणका लागि आफूले अझ राम्रो गर्ने आशा गरेको स्वीकार गरेकी छिन् ।
“स्पष्ट रूपमा हामीले आप्रवासनमा अझ राम्रो आशा गरेका थियौं, जहाँ हामीले धेरै मेहनत गर्यौं,“ टीजी–१ च्यानलमा शनिबार अबेर प्रसारण भएको एक अन्तर्वार्तामा उनले भनिन् ।
उनले भनेकी छिन, “परिणाम हामीले आशा गरेजस्तो छैन । यो पक्कै पनि एक धेरै जटिल समस्या हो, तर मलाई विश्वास छ कि हामी सम्भावित उच्चतम विन्दुमा पुग्नेछौं ।”
मेलोनीको ‘पोस्ट–फासिस्ट ब्रदर्स अफ इटली पार्टी’ इटालीमा ठूलो सङ्ख्यामा देखिएको आप्रवासन कम गर्ने प्रतिज्ञासहित शानदार मतसहित निर्वाचित भएको थियो ।
उत्तर अफ्रिकाबाट डुङ्गामा आउनेको सङ्ख्यामा वृद्धि भएको छ, यस वर्षको अहिलेसम्म गृह मन्त्रालयले एक लाख ३० हजारभन्दा बढी रेकर्ड गरेको छ । यो सङ्ख्या सन् २०२२ को सोही अवधिमा ७० हजार रहेको थियो ।
यसै महिनाको सुरुमा मात्र तीन दिनमा लाम्पेडुसा टापुमा आठ हजार ५०० आप्रबासी आइपुगेपछि मेलोनीले युरोपेली सङ्घले दबाब कम गर्न थप कदम चाल्नुपर्ने माग गरेका थिए ।
ब्रसेल्सले विद्यमान प्रयासहरूलाई तीव्रता दिन सहमत भएको छ र ट्युनिशियाबाट अनियमित आप्रवासन रोक्ने उद्देश्यले गरेको एक सम्झौता अन्तर्गत यसै हप्ता ब्रसेल्सले ट्युनिसियालाई नियन्त्रणका लागि पैसा पठाउन सहमत भएको छ ।
इटाली पुग्ने धेरै डुङ्गाहरू ट्यूनिशियाको बाटो भएर जाने गर्छन् ।
(रासस/एएफपी)

























