काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र उनका चिनियाँ समकक्षी लि छ्याङबीच आज द्विपक्षीय भेटवार्ता हुँदैछ । प्रधानमन्त्री दाहाल र समकक्षी छ्याङबीच ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०ः५५ मा भेटवार्ता हुने बताइएको छ ।
त्यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष झाओ लिजीसँग भेटवार्ता गर्ने छन् । भेटवार्ताका लागि प्रधानमन्त्री दाहाल ग्रेटहल अफ दि पिपलमा पुगेका छन् । त्यहाँ उनलाई स्वागत तथा गार्ड अफ अनर प्रदान गरिएको छ ।
द्विपक्षीय भेटवार्तामा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल हुने छ ।
उक्त छलफलपछि दुई देशबीच विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
चिनियाँ राष्ट्रपति सी जिनफिङसँग हाङजाउ सहरमा भएको भेटमा भएको कुराकानीका आधारमा सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भएको बताइएको छ ।
प्रधानमन्त्री दाहालको सम्मानमा चिनियाँ प्रधानमन्त्री लि छ्याङले दिवा भोजको आयोजना गरेका छन् ।
चीन बसाइको क्रममा प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे अवलोकन गर्ने, चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने र बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूचीसमेत छ ।
त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा जानेछन् । प्रधानमन्त्री दाहाल यही असोज १३ गते नेपाल फर्किने छन कार्यक्रम छ ।