काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आज बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बनेको र यसको लाभ लिनका लागि चिनियाँ लगानीकर्तासमक्ष आग्रह गरे ।
प्रधानमन्त्री दाहालले नेपालमा पर्यटन, पूर्वाधार, उर्जा, कृषि, औषधिजन्य उत्पादनलगायतका क्षेत्रमा लगानीको राम्रो सम्भावना भएको भन्दै लगानी गरी लाभ लिन पनि आग्रह गरे ।
उनले नेपालमा कर पनि तुलनात्मकरूपमा कम रहेको भन्दै लगानीको उचित वातावरण बनेको स्पष्ट पारे । नेपालमा लगानीको सुरक्षा र आवश्यक एवं उचित वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको समेत बताए ।
सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले नेपाल र चीनबीचको सम्बन्ध प्राचीन तथा ऐतिहासिक भएको उल्लेख गरे । प्रधानमन्त्री दाहालले सोही समयदेखि हिमालवारि र हिमालपारिको व्यापार सुरु भएको समेत भनाइ राखे । सो अवसरमा उनले चीन नेपालका लागि प्रत्यक्ष वैदेशिक लगानीका लागि ठूलो स्रोत र व्यापारका दृष्टिले दोस्रो मुलुक भएको बताए । नेपालको चीनसँग व्यापार घाटा ठूलो रहेको भन्दै त्यसलाई घटाउनका लागि उत्पादन क्षमतामा वृद्धि, भौतिक पूर्वाधार सुधार आवश्यक रहेको बताए ।
नेपाल सन् २०२६ मा अति कम विकसित देशबाट विकासोन्मुख देशमा स्तरोन्नति हुने तयारीमा रहेको भन्दै सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा पुग्ने लक्ष्य लिएको उनले बताए ।
प्रधानमन्त्री दाहालले दुई देशबीचको क्रस बोर्डर कनेक्टिभिटी बढाउनका लागि महत्त्वपूर्ण अग्रसरता लिएको उल्लेख गर्दै आर्थिक सम्बन्धमा जोड दिइएको बताए । नेपालमा विद्युत् आपूर्ति उल्लेख्यरूपमा बढेको उल्लेख गर्दै उनले नेपाल यतिबेला विद्युत् निर्यात गर्ने अवस्थामा आइपुगेको बताए ।
सो अवसरमा चीनका वाणिज्य उपमन्त्री लि फाइले नेपाल र चीन सदियौँदेखिको घनिष्ट मित्र भएको भन्दै चीनले नेपालको सदैव उन्नति र समृद्धि देख्न चाहेको बताए । उनले दुई देशबीच विभिन्न क्षेत्रमा लगानीका अधिक सम्भावना रहेकाले आपसी समृद्धि, विकास र आर्थिक उन्नतिका लागि नेपालमा लगानीका क्षेत्र पहिचान गर्नका लागि दुवै देशले सामूहिक प्रयास गर्नेमा जोड दिए ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्ताका लागि नेपाल लगानीको विश्वासिलो गन्तव्य भएको भन्दै अझ बढी चिनियाँ लगानीको अपेक्षा रहेको बताए । उनले चीन नेपालका लागि दोस्रो ठूलो व्यापार साझेदार मुलुक भएको बताए । नेपालले कूल आयातको १६ प्रतिशत चीनबाट गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालबाट चीनतर्फको निर्यात कम भएकाले यसलाई बढाउनपर्नेमा जोड दिए ।
उनले यस वर्ष नेपालमा पर्यटकीय पूर्वाधारमा उल्लेखनीय प्रगति भएको, दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र पर्यटकीय गन्तव्य सञ्चालनमा आएको भन्दै लगानीको सम्भावना बढेर गएको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घले वैदेशिक लगानीकर्तालाई लक्षित गरी एकद्वार प्रणालीमार्फत वैदेशिक लगानी ल्याउनका लागि एफडीआई हेल्प डेस्क स्थापना गरेको समेत जानकारी गराए । उनले चिनियाँ लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा राम्रो सम्भावना भएको भन्दै लगानीका लागि आग्रह गरे ।
सो अवसरमा चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीका उपाध्यक्ष झाङ शाङगङले नेपालमा लगानीका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ र सिसिपिआइटीको संयुक्त प्रयासमा लगानीका क्षेत्र पहिचान गरी लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका प्रत्यक्ष वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति मनोज पौडेलले नेपालमा युवा जनशक्तिको सङ्ख्या ठूलो भएको उल्लेख गर्दै नेपालमा युवा उद्यमशीलता समेत बढेको बताए । उनले नेपालमा भएको युवा जनशक्तिको पूर्ण उपयोग गरी लाभ लिन चिनियाँ लगानीकर्ता समक्ष आग्रह गरे ।