काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने १९औं एसियन गेम्स खेल्नका लागि सोमबार चीन जाने भएका छन् ।
नाबालिग बलात्कार मुद्दाको अन्तिम सुनवाइका लागि आजै पेसी परेका कारण सन्दीप टोलीसँगै चीन जान पाएका थिएनन् । एसियाडका लागि नेपाली टोली आज हाङजाओ प्रस्थान गरेको छ ।
काठमाडौं जिल्ला अदालतले न्यायाधीश अभाव भएको भन्दै मुद्दा सुनुवाइ स्थगन गरेपछि सन्दिप सोमबार जाने भएका हुन् ।
एसियाडमा नेपाली टोलीले बुधबार मंगोलियासँग खेल्दै छ । खेल जेझियाङ क्रिकेट फिल्डमा बिहान ६ः४५ बजे हुनेछ।
समूह चरणको अन्तिम खेलमा नेपालले आगामी आइतबार मालदिभ्ससँग खेल्ने तालिका छ । क्वार्टरफाइनलमा पुगे नेपालले पुनः टेस्ट टोलीसँग खेल्नेछ।
क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधै स्थान बनाएका छन् । एसियाडमा क्रिकेटका खेलहरु १० गतेदेखि २१ गतेसम्म चल्नेछ।
नेपालको टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर) रहेका छन् ।