काठमाडौँ । चीनको हाङ्जाओमा जारी १९औँ एसियाली खेलकुदमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीसँगै त्यसतर्फ जान तयारीमा रहेका क्रिकेटर सन्दीप लामिछाने रोकिएका छन् ।
नाबालिग बलात्कार अभियोग लागेका सन्दीपविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ गर्न आज (असोज ७ गते) का लागि पेसी तोकिएको उनी चीन जानबाट रोकिएका हुन ।
मुद्दा सुनुवाइ हुने/नहुने टुंगो लागेपछि मात्रै सन्दीप चीन जाने वा नजाने निर्णय हुने उनका वकिल सरोजकृष्ण घिमिरेले बताएका छन् । यसअघि गत भदौमा पनि मुद्दाको पेसी परेकै कारण सन्दीप एसिया कप खेल्न टोलीभन्दा पछि गएका थिए ।
चीनको हाङ्जाओमा जारी एसियन गेम्सको शनिबार उद्घाटन भएको छ । उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए ।
असोज २ गतेदेखि नै चलिरहेको एसियाडका खेलको औपचारिक उद्घाटन हिजो गरिएको हो । एसियन गेम्समा नेपालबाट अहिलेसम्मकै बढी २९ खेलका लागि २ सय ५३ खेलाडी सहभागी हुँदै छन् ।