काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेशको प्रथम अधिवेशन यही असोज ८ र ९ गते काठमाडौँमा हुँदैछ । भृकुटीमण्डपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले असोज ८ गते उद्घाटन गर्ने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बताइएको छ । आयोजक कमिटीका अध्यक्ष केशवराज पाण्डेका अनुसार अधिकांश पालिका कमिटी र जनसङ्गठनका प्रतिनिधि चयन भइसकेको र अन्य तयारी पनि पूरा भएको छ ।
एक हजार दुई सय प्रतिनिधि हुने अधिवेशनले दुई सय ४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
अध्यक्ष पाण्डेले नेतृत्व चयनका सर्वसम्मतरूपमा गराउन पहल भइरहेको र सम्भव नभएमा केही पदमा निर्वाचन पनि हुनसक्ने बताएका छन् । मुलुकको राजधानीसमेत रहेको प्रदेश कमिटीको प्रथम र ऐतिहासिक अधिवेशन हुने भएकले यसमा स्वभाविकरूपमा चासो र आकर्षण भएको उनले बताएका छन् ।
कुनै गुटबन्दी र अस्वस्थ्य प्रतिस्पर्धा नभएको बताउँदै पाण्डेले पार्टीको नेतृत्वबाट यो हुनुपर्छ या हुनुपर्दैन भन्ने कुनै सन्देश नआएको बताएका छन् । कसरी र कस्तो नेतृत्व चयन गर्ने भन्ने कुरा प्रदेश कमिटीका प्रतिनिधिकै हातमा रहेको पाण्डेले बताएका छन् ।
अधिवेशनका लागि प्रदेशका १३ वटै जिल्लाबाट १२ सय ५० को हाराहारीमा प्रतिनिधि छनोट भएको प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाले बताएका छन् ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरी ५ पदाधिकारीसहित नयाँ कमिटी बनाउनेछ ।
प्रदेश अध्यक्ष कार्यकारी भूमिकामा रहने र पोलिटब्युरो सरहको हैसियत हुने भएकाले पनि उक्त पदका लागि केन्द्रीय सदस्य पनि दाबेदार देखिएका छन् ।
हालसम्म प्रदेश अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, पूर्वपोलिटब्युरो सदस्य एवं बागमती प्रदेशका पुर्वसभामुख सानुकुमार श्रेष्ठ, हालका प्रदेश अध्यक्ष केशवराज पाण्डे, सचिव विजय सुवेदी, चितवनका नेता कृष्णभक्त पोखरेल, धादिङका भूमि त्रिपाठी र खेम लोहनीलगायतले अध्यक्षमा आकांक्षा देखाएका छन् ।
एमाले बागमती प्रदेश कमिटीका उपसचिव बर्तौलाले पनि बागमतीको नयाँ नेतृत्व सर्वसहमतिले चयन हुने बताएका छन् । अहिले अध्यक्षमा आकांक्षी देखाउनु स्वभाविक भएको बताउँदै उनले अन्तिमसम्ममा सर्वसहमतिले नै नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन् ।
एमाले लुम्बिनी प्रदेशमा नेतृत्वका लागि सर्वसहमतिको निकै प्रयास भएको थियो । तर अन्ततः निर्वाचनबाट नेतृत्व चयन गर्नु परेको थियो ।