सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा शुक्रबार पनि जारी रहेको छ । दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मलंगवाले गए राति १० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
मूर्ति विर्सजन (सेलाउन) जाने क्रममा मलंगवा-३ मा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन गए रातिदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोस्ट/बाबा पेट्रोलपम्प) सीमा क्षेत्रभित्र कसैले आजवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अरु कुनै प्रकारको गतिविधि गर्न नपाइने आदेशमा भनिएको छ । कर्फ्युको आदेश भएपछि अहिले मलंगवाको स्थिति सामान्य रहेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । (रासस)