
काठमाडौँ । प्रस्तावित शिक्षा विधेयकको विरुद्ध देशैभरका शिक्षकहरूले काठमाडौँ केन्द्रित भएर सडकमा उत्रिएका छन् । माइतीघर– बानेश्वरको मूल सडकमा केन्द्रित शिक्षक आन्दोलनमा ५० हजार भन्दा बढी शिक्षक सहभागि रहेको शिक्षक महासंघका पदाधिकारीहरुले बताएका छन् । शिक्षकहरूले हिजोदेखि काठमाडौँ केन्द्रित आन्दोलन माग पूरा नभएसम्म जारी रहने बताइएको छ ।


शिक्षकहरुको आन्दोलनका कारण काठमाडौको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । प्रहरीले माइतीघर र बानेश्वर भएर सवारी चलाउने यातायातलाई डाइभर्सन गरेका कारण सहायक सडकहरूमा सवारी जाम बढेको छ । जामका कारण छिनमै पुग्ने ठाउँ पुग्न पनि घण्टौँ पर्खनु परेको सेवाग्रहीहरुको गुनासो छ ।

शिक्षकहरूको मागलाई सम्बोधन गर्न आजै बिहान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षक महासङ्घका प्रतिनिधिहरूसँग वार्ता गरे पनि कुनै ठोस निष्कर्षमा सकेन । सरकारले विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी रहने महासंघले जनाएको छ ।

सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा यो आन्दोलन सुरू भएको हो । देशभरबाट हजारौंको संस्थामा उपस्थीत भएका शिक्षकहरुले काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’मा रहेका केहि प्रावधानहरु शिक्षकहरूको हकहितविपरीत भएको भन्दै नेपाल शिक्षक महासंघको अगुवाईमा दोश्रो दिन पनि प्रदर्शन गरिएको हो ।

महासंघले अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा विधेयकमा रहेका प्रावधान स्वीकार्य हुन नसक्ने बताएका छन् ।

शिक्षकको नियुक्ति, सरुवा, बढुवामा स्थानीय तहलाई भूमिका दिदा मनोमानी हुने र शिक्षकमाथि ज्यादती हुने भएकाले शिक्षकको नियुक्ति, सरुवा, बढुवा लगाएतको भूमिका जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने र केहि भूमिका प्रदेश तहमार्फत राखिनुपर्ने महासंघको माग छ ।

सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।
हाल मुलुकभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् भने स्थायी राहत गरी एक लाख ५७ हजार तीन सय ४३ शिक्षक कार्यरत छन् ।



























