काठमाडौँ । एसिया कप क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै छन् ।
श्रीलंकाको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ ।
श्रीलंकाले गत संस्करण पाकिस्तानलाई फाइनलमा पराजित गरेको थियो ।
घरेलु टोली श्रीलंकाले सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै फाइनलमा स्थान बनाएसँगै भारतसँगको भेट पक्का गरेको हो ।
रोहित शर्माको कप्तानीमा सन् २०१८ मा अन्तिम पटक भारतले उपाधि जितेको थियो । एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलंकाको टोली आमनेसामने हुँदैछन् ।
यी दुईबीचको अन्तिम फाइनल खेल सन् २०१० मा भएको थियो ।
भारत एक खेल अगावै शीर्ष स्थानमा रहँदै फाइनल पुगेको टिम हो । श्रीलंका साविक विजेता टोलीसमेत हो ।
यस अघि भारत र श्रीलंकाबीच सात पटक फाइनलमा भेट भएको छ । भारतले चार पटक फाइनल जित्न सफल भयो ।
फाइनल आज हुँदैछ । वर्षाको अवरोधले आज नतिजा नआएको खण्डमा भोलि ‘रिजर्भ डे’ राखिएको छ । मौसम पूर्वानुमानका अनुसार आज कोलम्बोस्थित आर प्रेमदासा रंगशाला क्षेत्रमा पानी पर्ने सम्भावना ९० प्रतिशतसम्म छ ।
यदि आज र भोलि दुवै दिनको खेल वर्षाले बिथाेलियाे भने भारत र श्रीलंका दुवै टीम संयुक्त विजेता घोषणा हुने छन् ।