बाँके । बाँकेको सोनारी– ९, ढकेरीबाट तीन किलोमिटर पूर्वस्थित पूर्व–पश्चिम राजमार्गमा बम विस्फोट भएको छ । माओवादी द्वन्द्वकालमा बिच्छ्याइएको हुन सक्ने अनुमान गरिएको बम विस्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले मध्यराति बस्तीभन्दा परको खाली ठाउँमा विस्फोट भएकाले अन्य क्षति नभएको बताएका छन् ।
उक्त बम विस्फोट भएको स्थानमा नेपाली सेना र प्रहरीको टोलीले पुगेर अनुसन्धान गरेको थियो । डीएसपी डाँगीका अनुसार सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गर्दा उक्त बम द्वन्द्वकालीन हुने अनुमान गरिएको छ।
अहिले खाडल परेको उक्त स्थानमा सडक विभागको टोली आएर मर्मतपछि दुईतर्फी यातायात सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ।