सर्लाही । बागमती नगरपालिका– ८ गाजलीचोकमा बिहीबार दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एमाले नेता गणेश कार्कीको मृत्यु भएको छ।
कार्की सबार बा ३० प ९४०७ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको ना ५९ प ५१७७ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ३ वर्षीया एक बालिकासहित तीनजना घाइते भएका छन् ।
बागमती नगरपालिका ८ शंकरपुर निवासी ४९ वर्षीय कार्कीको उपचारको क्रममा हरिवनस्थित सरस्वती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
ना ५९ प ५१७७ नम्बरको मोटरसाइकलमा सवार हरिवन नगरपालिका– १ का ३२ वर्षीय मुकेशकुमार साह, उनकी श्रीमती २६ वर्षीया शान्ता कुमारी साह र ३ वर्षीया छोरी दुर्घटनामा घाइते भएका छन् ।
घाइतेमध्ये बालिकाको अवस्था गम्भीर रहेको इलाका प्रहरीले जनाएको छ ।
मृतक कार्की एमालेको बागमती नगर कमिटीका सचिवालय सदस्य हुन् । कार्कीको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको एमाले सर्लाही ३ नम्बर क्षेत्रका क्षेत्रीय समन्वय कमिटीका संयोजक चुडामणि वाग्लेले बताएका छन् ।
कार्कीको शव पोष्टमार्टमपछि बिहीबारै बागमती नदीमा अन्त्यष्टि गरिएको छ । कार्कीका दई छोरी, एक छोरा, श्रीमती र आमा छन् ।