मकवानपुर । हेटौँडा अस्पतालमा कार्यरत चिकित्सकसहित ७८ स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् । हेटौँडा उपमहानगरपालिका– १ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा तथा डा.प्रशान्त बिडारीमाथि भएको कुटपिटको विरोधमा उनीहरुले राजीनामा दिएका हुन ।
चिकित्सक तथा स्वास्थ्यकर्मीले हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर रामचन्द्र सापकोटालाई सामूहिक राजीनामा बुझाएका हुन् ।
डाक्टरहरु कुटिएको ४८ घण्टा वित्दा पनि पीडितले न्याय पाउने छाँट नदेखिएपछि राजीनामा दिने निर्णयमा पुग्नु परेको डा. हरि खड्काले बताएका छन् । डिउटीमा खटिएकै अवस्थामा पिटाइ खानुपर्ने अवस्था अन्त्यका लागि राज्यले वेवास्ता गरेकाले आफूहरु असुरक्षित रहेको बताएका छन् ।
दोषीलाई कारबाहीको दायरामा नल्याएकाले आजदेखि आकस्मिकबाहेक हेटौँडा अस्पतालका सबै सेवा बन्द गरी चिकित्सक/स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेका हुन ।
नेपाल चिकित्सक संघमा आवद्ध सबै संघसस्थाका प्रतिनिधिले मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई सामूहिक पत्राचारमार्फत घटनाको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै आजबाट आकस्मिक बाहेकको सबै सेवा बन्द गरी आन्दोलनमा उत्रेको जानकारी गराएका छन् ।
डाक्टरविरुद्ध सांघातिक आक्रमण गर्नेलाई कारबाही नगरेको, बिरामी डाक्टरहरुको उपचारमा सरकारी पक्षले कुनै जिम्मेवारी नलिएको तथा चिकित्सकविरुद्ध प्रशासन मौन बसेको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।
डेंगी संक्रमणका कारण एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितको समूहले बुधबार अस्पतालभित्रै छिरेर डाक्टरलाई कुटपिट गरेका थिए ।
पीडित चिकित्सकहरूलाई आक्रमणकारीले प्रहरीकै अगाडि ज्यान मार्ने धम्की दिँदासमेत प्रहरी निरीह बनेकाले स्वास्थकर्मीहरुले आज सामूहिक उजुरीको तयारीसमेत गरेको बताइएको छ ।
डाक्टरमाथि भएको कुटपिटको विरोध गर्दै कारवाही गर्न चौतर्फी दबाब बढेपछि प्रहरीले सीसीटीभी फुटेजका आधारमा मृतकका श्रीमती रमा, छोरा रोहित, छोरी रमिता र भतिज अनुप प्रधानलाई पक्राउ गरेको बताइएको छ ।





















