
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईवी)ले नेपालमा सुन तस्करी गर्न चिनियाँ गिरोहले ७ वटा कम्पनी खोलेको पाइएको जनाएको छ ।
६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानमा खटिएका एसपी सञ्जयसिंह थापाले गिरोहले ७ वटा कम्पनी मध्ये ६ वटा कम्पनीबाट नेपालमा सुन भित्र्याएको पाइएको बताएका छन् । सुरुमा थोरै सामान ल्याउने र त्यसको सफलतालाई हेरेर बाँकी सामान ल्याउने गरेको पाइएको उनले बताएका छन् ।
साउन ३ गते बरामद उक्त सुन प्रकरणमा सीआईवीले ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।
सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका ९ विदेशीसहित ३२ जना तथा फरार रहेका १४ विदेशीसहित १८ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको जानकारी दिएकी छिन् ।
यो समूहले भित्र्याएको हालसम्म सबै बरामद ब्रेक प्याडहरुलाई जोख्दा ३०२ किलो ६२० ग्राम सुन ल्याएको देखिएकाले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को बिगो कायम गरेर मुद्दा अघि बढाउन राय दिइएको छ ।
बज्राचार्यका अनुसार इलेक्ट्रिक वस्तुसहित अन्य वस्तुका कार्टुनमा पनि सुन ल्याएको खुलेको छ ।
त्यस्तै सुन तस्करी प्रकरणमा जोडिएका पाँचजना विदेशी नागरिकले झुटा विवरण राखेर नागरिकता निकालेको पनि बज्राचार्यले बताएकी छिन् । उनका अनुसार नेपालमा सुन तस्करीमा ताइवानका नागरिक पनि जोडिएका छन् । धेरैजसो नेपाल, चीन र भारतका पनि नागरिक छन् ।
तस्करीमा अन्तर्राष्ट्रिय गिरोह संलग्न भएको सीआईबीको निष्कर्ष छ । यो अन्तर्राष्ट्रिय अपराध भएको भन्दै यसमा ताइवान, हङकङ र मकाउमा बस्ने चिनियाँ नागरिक, भारत र नेपाली नागरिकको संलग्नता देखिएको र पर्फेक्ट अर्गनाइजनल क्राइम गर्ने समूहहरुले जसरी काम गरेको पाइएको उनले बताएकी छिन् ।
























