वीरगन्ज । वीरगन्जको वीर्तास्थित बाल सुधार गृहमा झडप हुँदा ११ जना घाइते भएका छन् भने बालकहरुले प्रहार गरेको ढुङगाले लागेर तीन जना प्रहरी पनि घाइते भएको बताइएको छ ।
तीन हप्ता पहिले भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका १८ जना र यहाँ पहिलेदेखि बस्दै आएका बालकहरुबीच मंगलबार राति विवाद भइ झडप भएको प्रहरीले जनाएको छ ।
घाइते हुने मध्ये १० भक्तपुरबाट ल्याइएका रहेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिएका छन् । घाइते भएका बालकहरुको मंगलबार राति नारायणी अस्पतालमा उपचार गराइ जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको बताइएको छ ।
प्रहरी उपरीक्षक शाहका अनुसार भक्तपुरको बाल सुधार गृहमा भदौ ४ मा जेल फुटाएर विरोध गर्दै निस्किएकामध्ये १८ जना बालकहरुलाई वीरगन्जको बालसुधार गृहमा ल्याएर राखिएको थियो । यहाँ पहिलेदेखि १३१ जना बालक थिए । सुधार गृहका प्रमुख टिका काफ्लेका अनुसार सो गृहमा अहिले १४९ जना बालकहरु रहेका छन् ।
भक्तपुरबाट ल्याएर राखिएका बालकहरुले सुधार गृहका नाइकेसँग विवाद गरेर कुटपिट गरेपछि पहिलेदेखि रहेका र भक्तपुरबाट ल्याएएका बालकबीच झडप भएको बताइएको छ । उनीहरुले सुधार गृहभित्र तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा सुधार गृहमा पुगेको थियो । तर सुधार गृह भित्रबाट बालकहरुले ढुङ्गामुढा गरेर प्रहरीलाई अबेर रातिसम्म पनि सुधार गृह भित्र छिर्न दिएका थिएनन् । त्यसै क्रममा ढुङ्गाले लागेर तीन जना प्रहरी पनि घाइते भएका प्रहरी उपरीक्षक शाहले बताएका छन् । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउण्ड अश्रु ग्याँस पनि प्रहार गरेका थिए ।
सुधार गृहमा मंगलबार रातिदेखि प्रदर्शन गरिरहेका बालकहरुले भने सुधारगृहमा आफूहरुलाई खाना राम्रो नदिएको, घरमा फोन गर्दा एक कलको १ सय रुपैयाँ लिने गरिएको, एउटै कोठामा धेरै जनालाई कोचेर राखिएको, शौचालय पनि राम्रो नभएको, सुधार गृह प्रमुखले यातना दिंदै आएको जस्ता आरोप पनि लगाएका छन् ।
प्रहरी उपरीक्षक शाहले बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारीसहित गएर प्रदर्शनमा रहेका बालकहरुसँग संवाद गरेर समस्या समाधानको पहल गरिने बताएका छन् ।